प्रयास बाबु
धेरै समयपछि आज उनले फोन गरिन् ‘बजार आउनुहुन्छ ?मैले किन भनेर प्रश्न गरेँ ‘मेरो पनि आउने काम छ’ उनको जवाफ आयो ।
म बजार पुगिसकेको थिएँ उनले आफु आउँदै गरेको खवर गरिन । हामी झण्डै १६ बर्ष पछि भेट्दै थियौँ । म सामान्य मान्छे साइकल लिएर बजार गएको थिएँ तर उनि आउने भएपछि साइकल कतै राखेँ अनि केहि बेर पर्खिएँ । कता कता यत्तिका बर्ष पछि पनि यो साइकलनै चढ्दै रहेछ भन्ने हुन कि भन्ने डर लाग्यो हुन त म त्यसैको पारखि थिएँ त्यै पनि कहिले काहिँ बाइकमा हिड्छु तर प्राय सिटि सफारी र अटोमा यात्रा गर्छु भनेर आफ्नो सत्यता ढाक्ने प्रयास गरेँ । पकेटमा जम्मा १ हजार रहेछ साथीसँग ५ सय रुपैँया सापटि लिएँ । कफिँ पिउँ भनेर कुनै क्याफेमा लानै पर्यो केटि साथीलाई कफि पिएको पैसा तिर भन्ने चलन पनि छैन त्यो चलन निमिट्यान्न पार्ने काम पनि त गर्न भएन नि ।
उनि इटहरी आएर फोन गरिन म उनलाई पर्खिन बसपार्कमै पुगेको थिएँ । त्यतिका बर्ष पछि भेट्दा पनि उनिलाई उस्तै देखेँ मन्द मुस्कानमा हराउने वानी परेको थिएँ । मुस्कान दिँदा दुवै पट्टिका गालामा पर्ने डिम्पलले मलाई झनै मोहित बनायो र पहिला पनि बनाएकै थियो ।
भेट्नासाथ दुवैले एक अर्कालाई हेर्यौँ । मुस्कान दुवैतिरबाट बाँडिए । ‘कति चाँडो आइपुग्यौ’ मैले औपचारिकता निभाएँ । ‘पहिले जस्तै हुनुहुँदो रहेछ न दुव्लो न मोटो’ उनले विगत सम्झिए झैँ गरिन । मैले तिमि भनेर आत्मिय सम्बोधन गरेँ उनले तपाईको सम्मान दिइन । लाग्यो हामी एकअर्काका लागि बनेका हौँ । त्यो त पहिले पनि लागेको हो तर ब्रेक अप भएपछि लाग्न छाड्यो । उमेरले म भन्दा रिना २ बर्ष जेठि रहिछन् तर मलाई तपाई भन्छिन म उनलाई तिमी भन्छु यो कस्तो सम्बन्ध हो मलाई नै थाहा छैन ।
हामी इटहरीकै एउटा क्याफेमा छिर्यौँ । मैले खाजाको अफर गरेँ उनले आफु भेज भएको बताइन । त्यसपछि कफिमा कुरा मिल्यो । कफि पिउँदै विगतको समिक्षा भयो । हामी कसरी जोडिएका थियौँ किन छुट्यौँ अझै एकअर्कालाई कति माया गर्छौँ आदि ंं............... ।
रिनाले हामी छुट्टिनुमा मलाई कारण देखाइन अनि मैले उनलाई । पछि रिनाले कुरा खोलिन म सँग सम्बन्ध राखेको निउँमा उनलाई मामाको छोराले निकै गालि गरेको रहेछ । म पहाडको कुनाबाट शहर छिरेको मान्छे अनि उनि तराईमै हुर्किएकी । उनका लागि सम्बन्धहरु हजार थिए सायद अनि मेरा लागि खाली । सायद विचमा अरु थुप्रै कारणहरु थिए जसको समिक्षा रिनालेनै गरेको हुनुपर्छ मैले गर्न भ्याइन । प्रेम पछि म विवाह चाहान्थेँ सायद उनि अर्कै केहि चाहान्थिन तर उनको निर्दोष मुहार देख्दा लाग्छ उनि केहि चाहान्नन मात्र मलाई चाहान्थिन । सायद अहिले पनि चाहान्छिन तर बाध्यता छ विवसता छ अनि बन्धन छ तर त्यो बन्धन पनि सुन्दर छ र मिठो पनि छ ।
म सँग छुट्टिएपछि उनले प्रेम विवाह नै गरिछन् । उनका श्रीमान खाडीमै छन् । श्रम गर्छन । छोरो कक्षा ८ मा पढ्ने भइसकेछ । अनि छोरी पनि विद्यालय जाने भइछन् । १६ बर्ष पछि सामाजिक संजालमा भेटेर कुरा गर्दा मैले एक पटक त तिमीलाई भेटेर निर्धक्क हेर्न मन छ भनेको थिएँ । ‘भेटेपछि फेरी छुट्टिन मन नलाग्ला नि’ उनले जवाफ फर्काएकी थिइन । अर्को पटकको कुराकानीमा उनले भनिन् ‘छुटिन मन नलाग्ला भन्ने डरले भेट्नै मन लागेको छैन ।’ सामाजिक संजालमा २÷४ चोटि कुरा गरेपछि हामी भेटेका थियौँ । म आफु पनि व्यस्त जिवनमा हुन्छु मेरो आफ्नै परिवार छ । माया गर्ने जिवन संगिनी छिन् । प्यारी छोरी र छोरा छन् । आफ्नो परिवार प्रतिको जिम्मेबारी लाख छ तर माया त उनको पनि लाग्छ । सायद माया लाग्दैमा केहि हुँदैन माया गर्न पाउनु पर्छ भन्ने मेरो मान्यता पनि हो । रिनालाई माया गर्नु भनेको २ ÷ ३ महिनामा एक चोटि फोन गर्नु, सामाजिक संजालमा कहिले काँहि उनको तश्विर देखे त्यसमा लभ रियाक्ट गर्नु हो । कमेन्ट म गरिहाल्दिन सायद उनका श्रीमानले देख्लान के भन्लान उनको परिवारीक सम्बन्ध गतिलो भइराख्नु पर्छ । जिम्मेवारी बोकेर बसेकी नारीको सम्बन्धमा दरार आउन दिनु हुदैन मेरो मनले भन्छ । तर म परैबाट उनिलाई माया गरिरहन चाहान्छु । कतिपयले माया भन्ने वित्तिकै शारिरिक सम्पर्कमा ल्याएर जोड्ने गरेको पाएँ तर मैले रिनालाई त्यो हिसावले हेर्नै चाहिन । मेरो नजरमा माया सिरिप माया हो त्यो मनले मनलाई गर्छ भित्रभित्रै पत्तै नपाई कोहि मान्छेसँग नजिक भइदिन्छ । तर विडम्बना अव चाहेर पनि उनि मेरो घरमा आउन सक्दिनन् न त म नै उनको घरमा जान सक्छु । अस्ति सोध्दैथिइन म अचानक तपाईको घरमा आइपुगेँ भने मलाई तपाईको श्रीमतिसँग के भनेर चिनाउनुहुन्छ ? मेरो उत्तर केहि थिएन आज पनि त्यहि उत्तर खोजिरहेको छु ।
व्यस्तता आफ्नो आफ्नै हुन्छ रिना आफ्ना छोरा छोरी र परिवारसँग व्यस्त छिन् अनि म मेरो परिवारसँग तर उनिसँग कसरी जोडिएँ किन जोडिएँ न त अहिले आफ्नै भनेर छुन सक्छु न त अपनाउन । यति भनिरहँदा म मेरो जीवनसँगीनी देखि बेखुसि भने पटक्कै छैन उनि चार्मिङ्ग छिन् । मायालु छिन् अनि व्यवहारिक छिन् मेरी जिवन संगीनि भन्दा रिना अलिक खर्चालु जस्तो लाग्यो । जे भएपनि उनि उनकै पतिको कमाई खर्च गर्छिन सबैको जिउने आफ्नै शैली हुन्छन् त्यो उनको शैली हो । फेरी मन पराएका मान्छेको शैली पनि मन पर्ने अचम्मको रोग मान्छेमा हुँदो रहेछ जो म मा पनि रहेछ ।
क्याफेबाट निस्किएपछि उनले एक जना आफन्तकोमा जानु रहेछ मैले अन्तै जानु थियो । सफारी चढेर हामी जनता बस्तीमा पुग्यौँ त्यहाँ उनले मलाई पनि आफ्नो साथी भनेर परिचित गराइन । घरबाट आफन्तको जान्छु भनेर विदा भएर निस्केकी हुनाले उनी मलाई मात्रै भेटेर घर फर्किन सक्दिनथिइन । म सँग भेट्न आउनु आफन्त भेट्ने बाहाना थियो या त आफन्तको बाहानामा मलाई भेट्न आएकि हुन त्यो थाहा भएन ।
फर्किने बेलामा मैले मुख खोलेँ कास तिमी मेरी भएकी भए अहिले च्याप्प हात पक्रेर हिड्न सकिन्थ्यो उनले हात त अहिले पनि पक्रिन सकिहालिन्छ नि भन्दै च्याप्प मेरो हात समाइन । बाटोमा हिड्दा हिड्दै हामीले हात हातको स्पर्श लियौँ । मन जितेर मैले रिनाको गालाको डिम्पलसम्म हात पुर्याएँ । बेस्सरी पानी पर्न थाल्यो केहि बेर एउटा पसलको बाहिर छहारी लागेर बसेपछि उनलाई गाडी चढाएर पठाएँ । ‘कहिले काहिँ सम्झ है’ मैले भने उनले स्वीकृतीको टाउको हल्लाइन अनि हात । आज पनि उनले हल्लाएको स्वीकृतीको टाउको र हात बेला बेला याद आउँछ तर उनि आफ्नै संसारमा छिन् अनि म पनि । कहिले काहिँ कुरा हुँदा मैले भन्ने गरेको पनि त्यहि हो आफ्नु राम्रो ख्याल गर अनि बच्चाहरुको पनि । उनीसँगको यो अचम्मको माया आफ्नो ठाउँमा छ अनि हाम्रो जिम्मेवारी पनि । आखिर माया भनेको यहि त होला नी ।

0 Comments