रामधुनी नगर प्याव्सनको आयोजनामा शुक्रबार रामधुनीको झुम्कामा भएको नगर प्यावसन स्तरिय लोक नृत्य प्रतियोगिताको उपाधि झुम्काको आरम्भ विद्या मन्दिरले हात पारेको छ । 


रामधुनी नगरक्षेत्रका प्याव्सनमा आवद्ध ९ वटा निजि विद्यालयका विद्यार्थीहरु विच भएको नृत्य प्रतियोगितामा आरम्भ च्याम्पियन बनेको हो । यस्तै रामधुनी ५ मा रहेको एलईएस अर्थात लक्ष्मी मेमोरियल स्कुल प्रतियोगितामा उपविजेता बनेको छ । 


नगर स्तरिय लोकनृत्य प्रतियोगितामा प्रथम र द्धितिय स्थान हासिल गर्ने आरम्भ विद्या मन्दिर र लक्ष्मी मेमोरियलले आगामी १६ गते आयोजना हुने जिल्ला स्तरिय प्रतियोगितामा भाग लिन पाउने भएका छन् । 
जिल्ला स्तरिय प्रतियोगितामा सहभागिता जनाउनका लागि नगरले आफ्नो नगरको सबैभन्दा उत्कृष्ट प्रस्तुति दिने विद्यालय छनौट गर्न प्रतियोगिताको आयोजना गरिएको रामधुनी प्यावसनका सचिव हरि रायमाझिले जानकारी दिए । 


शुक्रबार भएको प्रतिस्पर्धाबाट रामधुनी ६ मा रहेको राइजिङ्ग स्टार बोर्डिङ्ग स्कुलले तृतीय स्थान हासिल गरेको छ भने रामधुनीकै नवकिरण इङ्गलिस स्कुलले चौथो अर्थात शान्तवना स्थान ओगटेको छ । 


नगर प्याव्सनले प्रतियोगिताकै लागि झापाबाट २ जना निर्णायक निम्त्याएको थियो । प्रतियोगितालाई निश्पक्ष र धाधली रहित बनाउन कोड प्रयोग गरी विद्यालयको प्रस्तुती दिन लगाइएको थियो भने प्रस्तुती पश्चात निर्णायकलाई ५ मिनेट भित्र प्रस्तुतीमा आधारित भएर नम्बर दिनुका साथै प्रतिक्रिया लेख्ने समय दिइएको थियो । हरेक प्रस्तुती पछि निर्णायकले दिने अंक र प्रतिक्रिया एउटा खाली वक्समा राखेर अन्तिममा अंक जोड्दै विजेता र उपविजेता छुट्याइएको थियो । 
प्यावसन रामधुनीका अध्यक्ष एंव माउण्ट समिट वल्र्ड स्कुलका डाइरेक्टर अच्युत ढकालको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्याव्सनका केन्द्रिय अध्यक्ष जित प्रसाद गुरागाईले विद्यालयहरुलाइ हरेक दिन छोटो समय नभए हरेक हप्ता नृत्य लगायतका अतिरिक्त क्रियाकलापमा सहभागी गराउनु पर्ने भनाई राखेका थिए । 


अतिरित्त क्रियाकलाप राखेको खण्डमा अभिभावकहरु प्यावसनमा आवद्ध स्कुल खोज्दै आफ्नो बच्चा लिएर आउने गुरागाईको भनाई थियो । 
प्यावसन रामधुनीका कार्यसमिति उपाध्यक्ष सरोज माझिले स्वागत मन्तव्य राखेको कार्यक्रममा बोल्दै प्यावसन रामधुनीका सल्लाहाकार बाबुराम खड्काले हरेक विद्यालयका नृत्य निर्देशक एंव कोरियोग्राफरहरुले निर्णायकहरुले हेर्ने नृत्यका नियमसँग परिचित हुनुपर्नेमा जोड दिएका थिए । 


आरम्भ विद्या मन्दिरको प्रांगढमा भएको कार्यक्रममा आरम्भका छात्र छात्राहरुले देखाएको शान्ति लुकाउँ कहाँ बोलको गीति नाटकले दर्शक दिर्घालाई स्तव्ध पारेको थियो । 


  विद्यालयमा विद्यार्थीहरु पढ्नमात्रै आउँदैनन् पढाईसँग विबिध अतिरित्त क्रियाकलाप समेत गर्छन जुन विद्यार्थीको भविश्यको लागि महत्वपुर्ण हुन्छ भन्ने सन्देश दिन प्याव्सनले बेला बेला कहिले नृत्य,कहिले वत्तृत्वकता कहिले हाजिरि जवाफ जस्ता कार्यक्रमहरु आयोजना गर्ने गरिएको प्यावसनका अध्यक्ष अच्युत ढकालको भनाई थियो ।