अघिल्लो हप्ताको ३ रातको बसाई विराट टिचिङ्ग हस्पिटलमा रहयो । दोस्रो सन्तान धर्तिमा आउने तयारी गरीरहेकाले एक दुई दिन हस्पिटलमै भर्ना भएर बस्नु पर्ने अवस्था आएको थियो । श्रीमति जिको स्वास्थ्य अवस्था हस्पिटल जाँदाका बखत राम्रो थियो । उनलाई कलेजोमा समस्या देखिएको कारण समय नपुग्दै बच्चालाई बाहिर निकाल्नुपर्ने श्रीमति जीलाई गर्भको पहिलो महिना देखिनै हेरिरहनु भएकी डा. इन्द्रा यादवको सल्लाह रहयो । हस्पिटल गएको दिन नै हामीलाई भर्ना भएर बस्ने सल्लाह दिइयो । 


पेटमा ९ महिला सम्म हुर्किएको बच्चालाई धर्तिमा ल्याउनु विश्वका सम्पुर्ण आमाहरुको लागि चानचुने कुरा होइन र रहेनछ । पहिलो सन्तानको रुपमा छोरी प्रकृती जन्मदै मैले थाहा पाइसकेको सत्य हो यो । त्यहि कारण पनि म अर्को बच्चाको रहरमा थिइन तर एउटा बच्चा त्यो जे भएपनि आमा वाबुको सेखा पछि एक्लो हुन्छन् भन्ने भयले हामीले दोस्रो बच्चाको लागि तयार हुने निधो गरेका थियौँ । श्रीमति जीले पनि त्यहि सोचका कारण दोस्रो बच्चाको रहर गरेपछि हाम्रो हस्पिटल सम्मको यात्रा तय भएको थियो । पहिलो सन्तानको रुपमा आएकी छोरी प्रकृति हाम्रो सदा खुसि र दुखको सारथी छिन् उनलाई बहिनीको रहर थियो । 

कार्तिक २४ गते विहिबार विराटनगरको विराट टिचिङ्ग हस्पिटलमा भर्ना भएका हामीलाई डा. इन्द्राले आमा बाबुको इच्छा बमोजिम नै प्रशुति गराउने बताइन । सामान्य तया हस्पिटलले पहिले नर्मल तथा प्राकृतिक प्रक्रियाबाटै प्रशुति गर्ने सल्लाह दिन्छन् कतिपय हस्पिटलमा सकेसम्म शल्यक्रिया नगर्ने गरेको र अन्तिम अवस्थामा मात्रै शल्यक्रिया मार्फत बच्चा निकाल्ने गरेको सुन्ने गरेको थिएँ । यसपाला हामीले डाक्टरसँग पहिलै चरणमा शल्यक्रिया मार्फत बच्चा निकाल्ने आफ्नो मनाशाय व्यक्त गर्यौँ । डाक्टरले हाम्रो मनासाय सुनेपछि शल्यक्रिया मार्फत प्रशुति गराउँदा हुन सक्ने खतराको बारेमा हामीलाई ज्ञात गराइन र आमाको अधिकार अनुसारै प्रशुति गराउने सहज स्वीकारोत्ती दिइन । डाक्टरका अनुसार अर्को दिन बिहान हाम्रो शल्यक्रियाको तयारी हुने भयो । 

भर्ना भएपछि बिभिन्न प्रकारका अनेकौँ टेष्टहरु गराइयो । यसो सम्झिँदा कतिपय आवश्यक टेष्ट गराइयो अनि कति अनावश्यक । भर्ना भइसकेको गम्भिर अवस्थाको विरामीलाई धेरै प्रकारका टेष्टहरु गराउनु हस्पिटलको आम्दानीको बाटो पनि हुन सक्ने मेरो अनुमान रहयो । हस्पिटलको पहिलो रात सहजै भयो भनौ एक जना बिरामीसँग र बाँकि कुरुवा हस्पिटलको आँगनमा सुत्नु पर्ने रहेछ । रातभर मच्छरहरुसँग झगडा भइरहयो । केहि डर र केहि भय अनि केहि नयाँ सन्तानको व्यग्र प्रतिक्षा मनमा थियो त्यहि प्रतिक्षाले रातको जाडोको खासै प्रवाह भएन । भाई लक्ष्मण, माइजु यसोदा पहिलो रातका सारथी थिए । 

पहिलो दिन भेट्न आउनु भएकी साली हेमाकी दिदि ममता, विराट मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलका सेक्युरिटि इन्चार्ज रवि उर्जा र हौसला दिने पात्रको रुपमा सहयोगी रहे । स्टाफ चन्दन पासवान पनि हाम्रो बसाईमा सल्लाह सुझाव र हौसलामा साथ रहे । शल्यक्रियाको बखत रगतको आवश्यकता पर्न सक्ने भनेपछि भाई गोविन्द्र आचार्य रगत दिन स्टेण्ड वाईको रुपमा दोस्रो दिन हस्पिटलमै आइपुगे । 

विहानै गर्ने भनिएको शल्यक्रिया केहि इमरजेन्सिका विरामीको चाप बढेपछि दिउँसो १२.४५ बजेमात्रै भयो । डा. इन्द्राले ले आफुले हेरेको बिरामी भएका कारण पनि आफँैले श्रीमति जिको शल्यक्रिया गरिछन् । शल्यक्रिया पहिलो भएको र बिभिन्न अफवाह समेत सुनिएकोले मनमा भय रहिरहेको थियो । साथ दिन साली हेमा र दिदि ममता आधा दिन भन्दा बढि हस्पिटलमै कुरेर बसे । १२. ४५ बजे दोस्रो सन्तानको रुपमा छोरोले संसार हेर्यो । करिव २० सेकेण्ड जति छोरोको अनुहार हेरेपछि छोरालाई एनआईसियुमा र आमालाई पोष्ट वार्डमा लगियो अनि अव अर्को दिनमात्रै आमा बच्चासँग भेट हुने खवर सुनाइयो । त्यो दिन आमाको लागि केहि औषधि र बच्चाको लागि सेनिटाइजर, मल्हम, डाइपर र खाने दुधको पाउडर दिएपछि अन्य काम भएन । 

तेस्रो दिन आमा बच्चाको भेट भयो । शल्यक्रिया पछि आमा बच्चालाई वार्डमा लिएर गयौँ । वार्डमा प्राय सबै एउटै प्रक्रितिका विरामीहरु थिए । धेरै शल्यक्रिया र केहि नर्मल प्रशुतिका महिलाहरु । सबैको एउटै समस्या । डिस्चार्ज हुने दिन हामीलाई बच्चाको लागि थाइरोइडको टेष्ट गराउन विल कटाउन लगाइयो । १ हजार ४४० रुपैँया लाग्ने उक्त टेष्टको लागि काउण्टरमा पुगेर पैसा जम्मा गरेँ । पछि बच्चाको रगत तान्न नर्शहरु आए तर मलाई कता कता त्यो सानो २ दिनको बच्चाको रगत तान्न मन लागेन । बरु बच्चा एक दुई महिनाको भएपछि जाँच गराउँछु अहिले रगत नतान्नुस भनेर नर्शसँग अनुरोध गरेँ । २ जना जतिसँग अनुरोध गरेपछि ‘ठिकै छ  हामी बच्चाको डाक्टरलाई भन्छौँ ’भन्ने जवाफ दिए । 

त्यो शल्यक्रियाको तेस्रो दिन थियो प्राय शल्यक्रियाको विरामीलाई केहि समस्या नदेखिए तेस्रो दिनमा डिस्चार्ज दिने चलन रहेछ । साँझमा हामीलाई  डिस्चार्ज दिने कुरा भयो । मैले टेष्ट नगराएको थाइराइडको पैसा फिर्ताको लागि बिरामी सहजकर्ता एक जना भट्टराई थरका स्टाफसँग कुरा गरेँ उनले डाक्टरको सल्लाह हामीले मान्नै पर्ने जबरजस्तीको कुरा गरे मैले सदुपयोग नगरेको सेवाको पैसा म किन बिर्सौँ भनेर भनेपछि अर्को हिमाल नाम गरेका स्टाफसँग मलाई भेटाएर पन्छिए । हिमाल जीलाई मैले सोहि कुरा बताएँ । उनले पैसा तिरेको ओरिजिनल बिल मागे । हामीले काउण्टरमा पैसा तिरेपछि २ प्रति विल दिने गरिएको छ त्यसमा एउटा सक्कल र अर्को रिप्रिन्टेड भनेर लेखिएको हुने रहेछ । मैले आफुले तिरेमध्येको एउटा बिल टेष्ट रिक्वेष्ट स्लिपसँगै वार्डको काउण्टरमा दिएको बताएँ र आफुसँग रिप्रिन्टेड स्लिप मात्रै बाँकि रहेको बताएँ । उनले मानेनन् ‘म सक्दिन ब्रोदर ओरिजिनल बिल लिएर आउनुहोस । ’ उनको ठाडो जवाफ थियो । हस्पिटलसँग सिस्टम छ मैले उक्त सेवा नलिएको प्रमाण पनि सिस्टममा छ । मैले पैसा तिरेको बिल म सँगै छ भने किन मैले पैसा फिर्ता नपाउने मैले मसँगै प्रश्न गरेँ । अनि मेरो ओरिजिनल बिल वार्डको काउण्टरमा पनि खोजे तर उनिहरुले हामीले डाक्टरलाई दिइसक्यौँ भनेर टारे आखिर म सेवाग्राहि अर्थात ग्राहकको के गल्ति ? फेरी हस्पिटलले ओरिजिनलसँगै दिने रि प्रिन्टेड बिल त म सँगै थियो नि त । त्यो पैसाको लागि मैले हस्पिटलकै प्रशासन बिभागका स्टाफ चन्दन पासवानसँग पनि कुरा गरेँ उनले पनि सक्कल बिल चाहिने कुरा सुनाए । हस्पिटलको नियम आफ्नो ठाउँमा छ तर सिस्टममा तिरेको पैसाको लागि सक्कल विल किन खोजिन्छ आखिर ग्राहकले पैसा तिरेको छ कि छैन? पैसा तिरे वापत उसले सेवा लियो कि लिएन ? त्यो प्रमाण खोजेर पनि सन्तुष्ट पार्न सकिन्छ नि । 

विराट टिचिट्ट हस्पिटलको अन्य सेवा समग्रमा राम्रो लाग्यो । मेरी श्रीमति जीको शल्यक्रिया तथा चेक जाँचमा खटिने तथा शल्यक्रियामा सहभागि हुने डाक्टर सिदार्थ यादव, इन्द्रा यादव , नर्शहरु सुरक्षागार्ड लगायत सम्पुर्ण स्टाफ धन्यवादका पात्र छन् ।